सरल सुब्बा, जटिल सुब्बा
'उपेन्द्र सुब्बाले २५ हजार खर्चेर मर्मत गरेको डेडलक कपाल काटे’, राष्ट्रिय समाचार त बनेन। तर, यो खबरले साहित्यिक मेहफिलमा सानोतिनो स्थानीय समाचारकै रूप लियो। शिल्पी थिएटरमा एउटा शनिबार लेखक दीपक सापकोटाको जिज्ञासामा सुब्बाले भनेका थिए, 'हाउ, मान्छेहरूले अतिसारो पो हेप्नु थाल्यो कि, त्यसैले कपाल पालेको थिएँ।'
त्यस अबोधपनमा उनको आफ्नै गाउँ, परिवेश र भूगोलको छाया भेटिन्छ। पाँचथरको एउटा गाउँ आङसराङमा जन्मेहुर्केका उपेन्द्र आफ्ना ४२ वर्षे दु:खसुखको पेटारो खाली व्यक्तित्वमा मात्रै नभएर साहित्यमै बिसाएका छन्।
उनका कविता, गीत र कथाहरू पनि ठीक त्यस्तै सरल छन्, जस्तो उनी देखिन्छन्। कुरा नचपाईकन भनिदिन्छन्, ‘म त केही जान्दिनँ पो। अतिसारो अल्छी छु।'
०००
२०५२ सालताका सुब्बाले पासपोर्ट बनाएका थिए विदेश जान। दुई पटकसम्म कोसिस गरे। अफसोस्, दुवैपल्ट भिसा लागेन। 'कतार जाने भिसा पनि लागेन हौ', हाँस्दै भने,'त्यसपछि मसँग आईए पास गरेको प्रमाणपत्रभन्दा अरू केही भएन।'
उपेन्द्र पक्का बेरोजगार र बेकामी बने त्यसपछि। जानेको काम लेखनमात्रै थियो। तर, उनी आफैं बिलखबन्दमा थिए। कसैले उनलाई नामी कवि-लेखक भनेर चिन्दैनथ्यो । त्यसताका उनी गीत र कविताहरू लेख्थे।
तर, न गीतकारको रूपमा चिनिए न कविको छवि बनाए। भलै उनका कविता र गीतहरू सुन्दर थिए। रेडियो नेपालमा आयोजित राष्ट्रिय गीत प्रतियोगीतामा उनको शब्दले तेस्रो पुरस्कार पनि पाएको थियो। यसले हौसला त बढायो तर संघर्षको नयाँ अध्याय थपियो।
सुब्बाका कविता र गीत सुनिसकेपछि खुसी भएर एक मित्रले गीत रेकर्ड गराउन भन्दै ७० हजार रुपियाँ हातमै थमाइदिए। त्यसपछि त उनी सीधै काठमाडौं आए गीत रेकर्ड गराउन।
दिनरात भिडेर संगीतकारको खोजी गर्नुु उनको मुुख्य काम बन्यो। दुःख के भयो भने संगीतकार शान्तिराम राईसँग भेट हुनुअघिसम्म सुब्बाको खल्तीबाट ४० हजार रुपियाँ खर्च भइसकेको थियो । पैसा थिग्रिँदै गयो। उनको संघर्षको कहानी सकिएन। त्यति बेला उनी बागबजारतिर एउटा होटलमा बस्थे।
केही महिनाको बसाइपछि त साथीले दिएको ७० हजार रुपियाँ सकिएर अरू थप ७० हजार ऋण थपिएछ। ऋण तिर्ने पैसा थिएन साथमा। थप जोहो गर्ने उपाय पनि भएन। संयोगवश ठीक त्यही बेला राजदरबार हत्याकाण्ड भयो। हत्याकाण्डको भोलिपल्ट बिहानै सुब्बा होटल छोडेर भागे। त्यसपछि सम्पर्कविहीन।
केही महिनापछिको एक दिन उपेन्द्र धरान बजारको चोकतिर चिया गफमा मस्त थिए। चोकको परतिरबाट एउटा हँसिलो वयस्क उनी भएतिर लम्किँदै आयो। चिनेझैं लाग्यो। नजिकै आइपुग्दा चिनेचिनेजस्तै लाग्यो। तर, ठ्याक्कै ठम्याउन सकेनन्।
चिया पसलमै आइपुगेपछि त नचिनी सुखै भएन। 'लु मार्यो नि हौ...। त्यही बागबजारको होटलवाला पो रहेछ', मस्त हाँसेर भने, 'के गरुम् के गरुम् पो भयो नि।'
पछि होटेल पनि बेचिएछ। धेरै पछिसम्म साहूजीले सुब्बासँग पैसा उठाउन आफ्नो सालो पठाउँथ्यो। झापादेखि जान्थ्यो ऊ। कहिलेकाहीँ धम्की दिन्थ्यो रे। 'मैले पनि होटलमा खाएको, बसेको बिल माग्नु थालेँ कि', अन्ततः ढाँटेनन् र भने, ‘त्यो होटलको पैसा त अझै तिरेको छैन पो।'
०००
चलचित्रका लागि स्क्रिप्ट लेख्नु, गीत र कविता लेख्नु उनका सोख थिए। वा उनको निर्विकल्प बाध्यता । अर्थात्, सुब्बासँग अरू केही थिएन। र त उनीसँग कविता थिए अनि गीत थिए। तर, स्वैरकल्पनामा उडेर साहित्यमा उनले कहिल्यै सपनाको खेती गोडेनन्।
सुब्बाका लागि संघर्षको समय यतिसम्म क्रूर बन्यो कि उनी आफूले भोगेको जिन्दगीबाट विरक्त बनेर आध्यात्मिक चिन्तन र अध्ययनमै समय बिताउन थाले। विदेश जाने भिसा लागेन। नेपालमै केही गर्न खास काम थिएन।
श्रीमती र छोरीले लाडिएर केही पिरोल्दैनथे तर परिवारलाई केही दिन नसकेकोमा उनमा थप ग्लानि भरियो। त्यसपछि सुरु भयो उनको आध्यात्मिक यात्रा। योगी नै बन्न त सकेनन्। तर, औसत मान्छेहरूले भोगेको जिन्दगीभन्दा अलग र पृथक् बनेर उनले समाजलाई स्पर्श गर्न खोजे।
आफ्नो जिन्दगीलाई फरक रूपमा भोग्न खोजे। रामकृष्ण परमहंश, स्वामी विवेकानन्द, ओशो, जे कृष्णमूर्तिलगायतका आध्यात्मिक चिन्तनले उनमा जीवन भोगाइको नयाँ आयाम थपियो।
...
लामो जटायुक्त कपाल देखेर उनलाई कवि÷लेखकहरूले ढर्रावादी भनेर आलोचना पनि गरे। यतिसम्म कि, कतिपय साहित्यिक सभा सम्मेलनहरूमा समेत उपस्थित हुन उनलाई अप्ठ्यारो भयो। कसैले कवि-साहित्यकार भनेर उनलाई नपत्याउने खतरा भयो।
एउटा नपत्याइएको लिम्बू ठिटोले स्थानीय प्लटहरुलाई टपक्कै टिपेर मूलधारको साहित्य लेखनमा भित्र्यायो।' धेरैको बुझाइ पनि त्यही छ। जे भन्न खोज्छन्, उनी सरल शैलीमा भन्न सक्छन्।
०६० सालअघिको कुरा। लेखक-साहित्यकार राजन मुकारुङ र हाङयुग अज्ञात दैनिक भेट्ने जक्सन थियो- न्यु प्लाजाको 'किम्ची रेस्टुरेन्ट'। उपेन्द्रले पनि त्यो दुईजनाको भेटमा भाग लिने मौका पाए। त्यसपछि तीनजनाको नियमित भेटको क्रम बढ्दै आयो।
खासमा, राजन र हाङयुगले सिर्जनशील अराजकता आन्दोलनको जेहाद त्यही जक्सनको गर्भबाट छेड्न थाले । र, सुब्बा पनि त्यही आन्दोलनका एक योद्धा बने।
...
सुब्बा सरल छन् र उनका कथा/साहित्य पनि सरल छन्। अर्थात्, उनको साहित्य सरल छ, र त उनी सरल छन्। नढाँटी भन्दा, कवि उपेन्द्र सुब्बा नेपाली भाषा फरर बोल्नै सक्दैनन्।
सार्वजनिक कार्यक्रममा उनको मन्तव्य सुन्दा थाहा हुन्छ कि, कहाँनेर उनको वाक्यको दुर्घटना हुनेछ। अति अप्ठ्यारो गरी नेपाली बोल्छन् उनी। स्वीकार्छन्, ‘मलाई कतिपय नेपाली शब्द उच्चारण गर्नै आउँदैन।'
उनी थप्छन्, '१८ वर्ष लगातार लिम्बू भाषा र संस्कारबाट हुर्किएँ, त्यसैले होला, 'डडेलधुरा', 'इस्क', 'घनघस्याको उकालो' जस्ता शब्द उच्चारण उपेन्द्रको जिब्रोबाट अहिलेसम्म भएको छैन।'घनघस्याको उकालो'लाई उनी 'घनश्यामको उकालो' भन्थे रे। तर, उनका कवितामा प्रयोग भएका गहन शब्दहरू हेर्ने हो भने लाग्छ, ‘फरर बोल्नै नजान्ने मान्छे यस्ता शब्द कसरी भित्र्याउँछ ?'
उपेन्द्र हाँस्दै थप्छन्, 'उच्चारण गर्नु पो आउँदैन मलाई। मनभित्र त छ नि हौ। भावनामा त आउँछ नि।'हो, उपेन्द्रको विशेषता नै यही हो।
'एउटा नपत्याइएको लिम्बू ठिटोले स्थानीय प्लटहरूलाई टपक्कै टिपेर मूल धारको साहित्य लेखनमा भित्र्यायो।' धेरैको बुझाइ पनि यही छ। जे भन्न खोज्छन्, उनी सरल शैलीमा भन्न सक्छन्।
लेखनमा कुनै फूलबुट्टा भर्न जान्दैनन्। बडेबडे आदर्श खोज्दैनन्। देखेका र भोगेका सामान्य तर, गम्भीर मिथहरूमाथि सरल कथा लेख्ने उनको खुबी हो । र, यही विशेषतासँगै बाँचेका छन् सुब्बा।
फेरि सरलताबीच जटिल र गम्भीर विषय उठान गर्न सिपालु छन् उनी। पछिल्लो 'लाटो पहाड' (कथासंग्रह)मा उनले पहिचानका, खासगरी राज्यबाट नपत्याइएका गम्भीर विषयहरूलाई अति सरल रूपमा उतारेका छन्।
लेखक नयनराज पाण्डेको टिप्पणीअनुसार उपेन्द्र सुब्बा चलाखीपूर्ण र योजनाबद्ध रूपमै आफ्नो सरलता देखाउँछन्। तर, सुब्बा यसलाई स्वीकार गर्दैनन् । भन्छन्, 'त्यस्तो होइन। कुनै योजना गरेर सरल बन्छु भन्ने कहिल्यै सोचेकै छैन। त्यति ठूलो सपना पनि छैन मसँग । साहित्यलाई चुलीमा पुर्याऊँला भन्ने स्वैरकल्पनाको सागर थामेको छैन।'
त्यसो त, पछिल्लो समय उपेन्द्र सुब्बा अन्य औसत लेखक, कविभन्दा नितान्त भिन्न भएको समीक्षक गुरुङ सुशान्त पनि स्वीकार गर्छन्। कथाकार गुरुप्रसाद मैनालीकै धारमा सुब्बाका कथा भए पनि उनले थप नयाँ 'फ्लेवर' दिएको सुशान्त बताउँछन्।
आखिर, उपेन्द्र सुब्बा त्यस्ता कवि हुन् जो आफ्ना विषयमा भएका टिप्पणीबारे पनि खासै चासो राख्दैनन्। न आलोचना सुन्छन् न प्रशंसा। खासगरी, उनका पछिल्ला कृतिहरू 'खोलाको गीत' (कवितासंग्रह) र 'लाटो पहाड' (कथासंग्रह) ले राम्रो चर्चा र प्रशंसा पाए। 'लाटो पहाड'ले ०७१ सालको पद्म श्री पुरस्कार पनि प्राप्त गर्यो।
'कतार जाने भिसा नलाग्दा दुखी र विक्षिप्त भएको बेरोजगार लिम्बू वयस्कले नेपाली साहित्यमा नयाँ पहिचानसहित आफ्नो 'स्पेस' बनायो। उपन्यास लेखनको तयारीमा जुट्दै गरेका सुब्बा आफूसँग थप चुनौती र जिम्मेवारी देखिएकाले लेखनमा अरू थप नयाँपन भित्र्याउने बताउँछन्।
Post A Comment
No comments :