बी-बोइङ् स्टाइल

खुकुला टिसर्ट र पाइन्ट, कन्भर्स जुत्ता र टाउकोमा स्टाइलिस क्याप। काठमाडौँको ठमेलस्थित हाउस अफ म्युजिकनजिकै रहेको जीएए हल पुग्ने हो भने हिपहप पहिरनमा सजिएका किशोरकिशोरी चर्को संगीतमा बी-बोइङ् गररिहेका भेटिन्छन्। हाउभाउ र भावभंगिमाका हिसाबमा अलग हिपहप शैली र यससँग जोडिएको नृत्यकलाका खास विशेषताका कारण सहरिया किशोरकिशोरी बी-बोइङ्तर्फ तानिएका छन्।

बी-बोइङ्लाई हिपहपको संगीत विधा अन्तर्गतको सबैभन्दा शालीन र अनुशासित कला मानिएको छ। बी-बोइङ्का लागि काठमाडौँमा कहलिएको समूह स्याडो नेपालका प्रमुख नीलविक्रम शाही भन्छन्, "हिपहपका रक, र्‍याप र हेभीमेटल ब्यान्डका प्रस्तुतिहरूमा जस्तो बी-बोइङ्मा कुनै पनि लागू पदार्थ सेवन गर्न पाइँदैन। मान्छेहरू पत्याउँदैनन्, बी-ब्वाई र बी-गर्लहरू सुपारीसमेत खाँदैनन्।" बी-बोइङ् गर्न त्यत्तिकै कठिन छ। कडा र निरन्तर अभ्यास गररिहनुपर्छ, टाउकोले टेकेर फनफनी घुम्दै नाच्ने, एउटा हातका केही औँलाका भरमा नाच्ने, कुमलाई मात्रै भुइँमा टेकाएर नाच्ने, खुट्टाका औँलाका भरमा नाच्ने आदि।

बी-बोइङ्मा प्रयोग हुने अक्षर 'बी'लाई नै 'ब्रेक' र 'बिट'का रूपमा बुझिन्छ। ब्रेक नृत्यको ढाँचा हो भने 'बिट'चाहिँ म्युजिकको ताल। त्यही बिट अनुसार डान्सरहरूले आफ्नो शरीरलाई बंग्याउने, दोब्राउने र उफार्ने कला यसमा हुन्छ। यसमा अप रक, डाउन रक, फ्रिज र पावर मुभ गरी चार भागमा आधारति रहेर डान्सरहरूले आफ्नो प्रस्तुति देखाउने गर्छन्। त्यस्तै, फाउन्डेसन, ओरिजिनालिटी, डाइनामिक, ब्याटल र एक्जिक्युसन गरी चार तत्त्वले नै डान्सरको क्षमता निर्धारण गर्छन्। नीलविक्रम भन्छन्, "नयाँ वर्ष, विभिन्न चाडबाड तथा खास अवसरका बेला ठूला सपिङ् मलहरूमा बी-बोइङ् प्रस्तुतिको माग हुन थालेको छ।"

बी-बोइङ्मा जिम्न्यास्टिक, उसु र कराँतेजस्ता खेलका केही अंश पनि समावेश हुन्छन्। त्यसैले यसलाई 'स्पोटर्स स्टाइल'को नृत्य पनि भनिन्छ। फ्रिस्टाइल, सो केस र ब्याटल बी-बोइङ्का चलेका शैली हुन्। एकल प्रस्तुति देखाउनुलाई 'फ्रिस्टाइल' भनिन्छ भने समूहमा नाच्नुलाई 'सो केस'। बी-बोइङ् प्रस्तुतिको सबैभन्दा आकर्षक शैली 'ब्याटल' हो। दुई फरक समूहबीच स्टेपहरूमार्फत शक्ति देखाउने र भिडन्तमा उत्रने शैलीलाई ब्याटल भनिन्छ।

त्यसो त, बी-बोइङ् कल्चरको सुरुआत नै सामूहिक भिडन्तको इतिहाससँग जोडिएको छ। सन् १९६० को दशकमा अमेरिकाको न्युयोर्क सहरमा विभिन्न लागू औषध समूहबीच दैनिक रूपमा भिडन्त भइरहन्थ्यो। स्थिति नराम्रो भएपछि अफ्रिकाबाट अमेरिका आएका बम बार्डाले सामूहिक भिडन्तलाई रोक्ने एउटा तरिका ल्याए। त्यो थियो, बी-बोइङ्। उनले स्थानीय किशोरबीच नछोईकन र अपशब्द उच्चारण नगरीकन भिडन्त गर्ने प्रतिस्पर्धाको रूपमा बी-बोइङ्लाई परिचित गराए। र, अन्ततः त्यही शैलीले नृत्यको रूप लियो। "सकारात्मक आशयबाट उद्भव भएकाले होला, अहिले पनि यसमा अनुशासनलाई महत्त्वपूर्ण गुणका रूपमा लिइन्छ," नेपाल बी-बोइङ् फाउन्डेसनका संस्थापक क्रिसादा कंगावत -मिकी दाइ) भन्छन्, "बी-ब्वाई र बी-गर्लहरू निरन्तर रूपमा लागू औषधविरुद्धको अभियान, सडक बालबालिकाको अधिकार खोजी र महिला जागरणजस्ता चेनतामूलक कार्यक्रममा लागिरहेका छन्।"

नेपालमा बी-बोइङ् सुरु गराउने मुख्य मान्छे यिनै मिकी दाइ हुन्। थाइ बाबु र तिब्बती मूलकी आमाबाट जन्मेका मिकी सानैदेखि नेपालमा बस्दै आएका छन्। थाइल्यान्डबाट बी-बोइङ् जान्ने केही व्यक्ति काठमाडौँ ल्याएर पाँच वर्षपहिले उनले नै यहाँ प्रशिक्षण सुरु गरेका थिए। त्यसको एक वर्षपछि उनले केही नेपाली युवालाई थाइल्यान्ड पनि लगे र प्रतियोगितामा सहभागी गराए। अघिल्लो वर्ष भारतको चेन्नईमा भएको प्रतिस्पर्धामा भने नेपाल एसिया प्यासिफिक देशमध्ये चौथो स्थानमा आएको थियो।

विश्वभरि नै प्रचलित आचारसंहिता के छ भने बी-बोइङ् कन्सर्टमा धूमपान र मद्यपान गर्न पाइँदैन। न दर्शकले पाउँछन्, न त प्रस्तोताले नै। चुरोट र मदिराका ब्रान्ड प्रवर्द्धन पनि यस्ता समूहले गर्दैनन्। एक वर्ष पनि भएको छैन, नेपाल आर्मी अफिसर्स क्लबमा सुन्दरी प्रतियोगिताको कार्यक्रम एउटा मदिरा कम्पनीले प्रायोजन गरेको खबर पाएपछि 'बी-गर्ल क्र्यु'की प्रमुख जेनिशा डंगोलले कार्यक्रम नै बहिष्कार गरनि्। भन्छिन्, "हामीलाई पहिले विशुद्ध सुन्दरी प्रतियोगिताको कार्यक्रम हो भनेर बोलाइयो। तर, हाम्रो सर्त थियो, मद्यपान र धूमपानबारे बोर्ड कतै देखिनुहुँदैन। अन्तिममा उनीहरूले एउटा मदिराको ठूलो होर्डिङ् बोर्ड राखेपछि हामी प्रस्तुति नदेखाईकन फर्कियौँ।"

काठमाडौँबाहिर पनि विभिन्न सहरमा बी-बोइङ्प्रति आकर्षण बढ्न थालेको छ। खासमा, काठमाडौँबाट विभिन्न जनचेतनामूलक कार्यक्रमहरू लिएर मोफसल जाँदा बी-बोइङ्को प्रभाव फैलिएको यसका अनुभवीहरू बताउँछन्। "देशभर अहिले पाँच हजारभन्दा बढी किशोरकिशोरी बी-बोइङ्मा संलग्न छन्," मिकी दाइ भन्छन्, "दुई हजार त खरो रूपमा उत्रनेहरू छन्।" त्यसबाहेक सडक बालबालिकामा समेत यो शैलीको नाच लोकपि्रय बन्दै छ। खासमा कुलतमा नफसून् भनेर उनीहरूलाई बी-बोइङ् सिकाउन थालिएको हो।

नीलविक्रमका अनुसार उत्कृष्ट २० बी-ब्वाइजमध्ये १० जनाले त सडकबाट आएर तालिम लिएका छन्। उनी थप्छन्, "सडकबाटै आएको नृत्य संस्कृति भएकाले पनि बी-बोइङ्ले सडक बालबालिकालाई सकारात्मक प्रभाव पारेको छ।" अरू किशोरकिशोरीलाई पनि कुनै न कुनै हिसाबले बी-बोइङ्ले कुलतबाट जोगाएको छ। जस्तै ः किशोरीहरूमध्ये उत्कृष्टमा पर्ने बी-गर्ल आस्मा विश्वकर्मा उदाहरण हुन्। स्कुले अवधिमा साथीको संगतले गर्दा चुरोट हुँदै गाँजाको लतमा फस्दै गइन् उनी। तर, जब बी-बोइङ् डान्सतिर आइन्, सबै लत छुटे। भन्छिन्, "बी-बोइङ् गर्न थालेपछि जीउ पनि फुर्तिलो हुने अनि मुड पनि फ्रेस हुने, अरू गलत कुरा त सबै टाढा हुने।"

अर्को रमाइलो कुरा के छ भने नृत्यको यस विधामा किशोर र किशोरीका लागि स्टेप, शैली र प्रस्तुतिहरू समान छन्। किशोर र किशोरी एउटै ब्याटलमा मज्जाले भिड्न सक्छन्। र, प्रतियोगिताहरूमा निर्णयका मापदण्ड र आधार पनि एउटै हुने अनुभव सुनाउँछिन्, जेनिशा डंगोल। भन्छिन्, "हामी सबै बराबर।"

नेपालमा नृत्यको पछिल्लो शैलीका रूपमा भित्रिएको बी-बोइङ् अझै परिषकृत भने भइसकेको छैन। टेलिभिजन च्यानलहरूमा देखिने प्रस्तुतिहरूबाट आकषिर्त भएर यो नृत्य सिक्न खोज्नेहरू सबैलाई सहज रूपमा प्रशिक्षक उपलब्ध छैनन्। "अर्को कुरा हामीकहाँ बी-बोइङ्का लागि छुट्टै संगीत बनाउने चलन पनि आइसकेको छैन," बी-ब्वाइ सोनु नेपाली भन्छन्, "हलिउडमा यो डान्सका लागि अलग म्युजिक कम्पोज गरिन्छ।" पश्चिमा मुलुकमा भने यसको लोकपि्रयता राम्रै छ। जस्तै ः अमेरिका र बेलायतमा भएका पछिल्ला ओलम्पिक खेलमा समेत उद्घाटन सत्रको सुरुआत बी-बोइङ्बाटै गरिएको थियो। नीलविक्रम भन्छन्, "नबुझ्नेको हातमा पुगेर कला सस्तो हुनुभन्दा बुझेका कम व्यक्तिले अनुशासित रूपमा यसलाई अघि बढाउनु राम्रो हो। किनभने, यो कलाको दुरुपयोग हुने खतरा पनि त्यत्तिकै हुन्छ।" त्यसैले रक म्युजिकजस्तो चल्तापुर्जा हुन नसके पनि बी-बोइङ् बिस्तारै नेपालमा व्यावसायिक भने बन्दै गएको उनको अनुभव छ।

व्यावसायिकताकै लागि नेपालमा नेपाल फाउन्डेसन अफ बी-बोइङ्ले हरेक वर्ष नेपाल च्याम्पियन प्रतियोगिता आयोजना गर्दै आएको छ। त्यसबाट छानिने च्याम्पियनलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि लैजाने काम पनि यसैले गर्छ। त्यसबाहेक पछिल्लो समय विभिन्न कम्पनीको ब्रान्ड प्रमोसनका लागि बी-ब्वाइज र बी-गर्लहरूले काम पाउन थालेका छन्। सँगसँगै विभिन्न विद्यालयले समेत बी-ब्वाइज तथा बी-गर्ललाई प्रशिक्षकका रूपमा नियुक्ति दिन थालेका छन्। बी-गर्ल आस्मा भन्छिन्, "हेर्नेलाई मज्जा हुन्छ होला। तर, हामीले यो सीप सिक्न कडा मिहिनेत गर्नुपर्छ। त्यसैले पनि यसबाट प्रतिफल खोज्नु स्वाभाविक छ।"
Post A Comment
  • Blogger Comment using Blogger
  • Facebook Comment using Facebook
  • Disqus Comment using Disqus

No comments :